एजेन्सी – जापानी मिडफिल्डर दाइची कामादाको उत्कृष्ट प्रदर्शनसँगै इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टसँग घरेलु मैदानमा स्तब्ध बनेको छ। आर्सनलले सुरुवाती अग्रता जोगाउन नसक्दा २–१ ले पराजित भएको हो।
इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनललाई स्तब्ध बनाउन दाइची कामदाले दुई गोल गरे। आसर्नलका पिएरे इमरिक औवामियाङले गरेको गोल सान्तवना बन्यो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा औवामियाङले गोल गर्दै घरेलु टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा आर्सनलले त्यो अग्रतालाई जोगाउन सकेन।
५५औं मिनेटमा कामदाले पहिलो गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले ड्यानी दा कोस्टाको पासमा गोल गरेका थिए। ६४औं मिनेटमा कामदाले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्कफर्टलाई खेलमा २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल घरमै २–१ ले स्तब्ध बन्न पुग्यो।
हारसँगै आर्सनल समूह ‘एफ’ मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ। फ्रान्कफर्ट ९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। यही समूहको अर्काे खेलमा भिटोरिया डि गुइमारेइस र स्टान्डर्ड लिएजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छन्। स्टान्डर्ड लिएजको ७ तथा गुइमारेइसको २ अंक छ।