काठमाडौं। काठमाडौंको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ।
१९ औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू समुदायले सांस्कृतिक र्याली पश्चात् वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रमको सुरुवात गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं क्षेत्र १ का सांसद प्रकाशमान सिंह, काठमाडौं क्षेत्र ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, ललितपुर क्षेत्र २ का सांसद प्रेमबहादुर महर्जन, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, ज्यापू महागुथिका अध्यक्ष, ज्यापू समाज,यलका अध्यक्षलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजमा महत्त्वपूर्ण योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको छ। मूल कार्यक्रम हुनुअघि ज्यापू समुदायले सांस्कृतिक अभियान स्वरूप बाजागाजासहित सांस्कृतिक नगर परिक्रमा गरेका थिए।
ज्यापू समुदायको परम्परागत मौलिक संस्कृति, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण गर्न निरन्तर रूपमा यस दिवस मनाउन थालिएको ज्यापू संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताए।
वि.सं २०६१ सालदेखि नेवाः जातिभित्रको ज्यापू समुदाय र गैरज्यापू समुदायबीच सामाजिक सद्भाव, समन्वय र सहयोगी भावना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक अभियान सुरु गरिएको हो।