काठमाडौं। सरकारले राष्ट्र सेवक कर्मचारीहरुको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।
साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले यही साउन १ गतेदेखि लागू हुने गरी आर्थिक वर्ष २०७९÷८० को नयाँ तलवमान र ग्रेड सरकारले स्वीकृत गरेको हो।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो। तर साउन १ गतेदेखि लागु हुने कर्मचारीहरुको नयाँ तलबमान १५ देखि २४ प्रतिशतसम्म वृद्धि गरेर सार्वजनिक भएको थियो।
त्यस्तै, बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ।
भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ।
यस्तै बैठकले उर्जा, कानुन र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्ने गरेको प्रवक्ता कार्कीले बताए।
विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए।
त्यस्तै, बैठकले सप्तकोशी बाढीबाट बढि क्षति भएका भौगोलिक क्षेत्रलाई बिपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उनले बताए।
त्यस्तै, बैठकले राष्ट्रिय खेलकुद प्रतियोगीता सम्बन्धी निर्देशीका २०८९ स्वीकृत गरेको छ।