काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाँदा सबै दललाई समान ढङ्गले सिट बाँडफाँट हुनुपर्ने बताएका छन्।
मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेश भइरहेको बारे जानकारी गराउन बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँगको भेटपछि यस्तो बताएका हुन्।
उनले भने, ‘गठबन्धनमा अहिले दलहरु थप्ने विषयमा जे आधारमा थपिएको छ, त्यही आधारमा आवश्यक तालमेल गर्नुपर्छ।’
प्रत्येक पार्टीको आफ्नो हैसियत हुने भएकाले २०७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गरेर आगामी प्रदेश र सङ्घको निर्वाचनमा सिट बाँडफाँट गर्न आवश्यक रहेको नेता खनालको भनाइ छ।
उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने भन्दै सबैलाई दललाई समान रुपमा सिट बाँडफाँट गर्ने बुटी खोजेर अघि बढ्नुपर्ने बताए। उनले बाम एकताको लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् बाम एकताको सम्भावना नरहेको दाबी गरे।
त्यस्तै, नेता खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमण महत्वपूर्ण रहेको बताए। चीन भ्रमणका बेला परराष्ट्रमन्त्री खड्काले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्यालगायत अन्य सहमतिबारे कुरा उठाउनुपर्ने नेता खनालको भनाइ छ।
उनले परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि पहल गर्नुपर्ने जोड दिए। बेलाबेलामा नेपाल–चीन सीमा विवाद आइरहने भन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीको भ्रमणले सहयोग पुग्नेमा विश्वस्त रहेको उनको भनाइ छ।