धरानस्थित बीपी विज्ञान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारको माग गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले दोषीमाथि कारबाही नभए आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ।
प्रतिष्ठानको समस्य निराकरणका लागि गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवेदन सार्वजनिक भएको एक महिना पुग्नलाग्दा पनि दोषीमाथि कारबाही नभएको भन्दै संघर्ष समितिले बिहीबार यस्तो चेतावनी दिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले धरान पुगेर आन्दोलनरत समूह, पदाधिकारी, विभागीय प्रमुखसँग छलफल गरी साउन १९ गते प्रतिवेदन सार्वजनिक गरेको थियो।
डा. अर्यालको संयोजकत्वमा गठित कार्यदलले स्थलगत अध्ययन गरी सावर्नजनिक गरेको प्रतिवेदनमा प्रतिष्ठानको आम्दानी घट्दै गएको, शैक्षिक स्तर क्रमशः खस्कँदै गएको, प्रतिष्ठानमा आर्थिक अनियमितता बढ्दै गएको, प्राज्ञिक क्षेत्र तथा कर्मचारीको वृत्तिविकास रोकिएको स्वायत्तता हस्तक्षेप हुन थालेको, पदाधिकारीबीच असमझदारी बढेको लगायतका समस्या उल्लेख छन्।
त्यसपछि स्वास्थ्य मन्त्रालयद्वार गठिन वार्ता टोलीले सोही प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो। सहमति भएको ३० दिन बितिसक्दा पनि सम्झौता कार्यन्वयन नभएपछि संघर्ष समितिले गत ७ दिनको अल्टिमेटमा दिएको थियो। उक्त अल्टिमेटममा म्याद भोलि सकिन लागेपछि संघर्ष समितिले यस्तो चेतावनी दिएको हो।
बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथितीविरुद्ध संयुक्त समिति विगत ८० दिनदेखि आन्दोलनरत छ। संघर्षमा प्रतिष्ठानका सम्पूर्ण कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरु सहभागी छन्।