काठमाडौं – काठमाडौंमा जातकै कारण कोठा नपाएर पीडित भएकी सञ्चारकर्मी रुपा सुनारको घटना सेलाउन नपाउँदै असार २४ गते अर्थात् बिहीबार एउटा अर्को जातीय विभेदको घटना सार्वजनिक भयो। जुम्लाको सिंजा गाउँपालिका ६ का वडा अध्यक्ष कालीबहादुर बुढा र उनका छोराले स्थानीय बिवेन्द्र नेपालीमाथि जातीय गालीगलौज र कुटपिट गरेको खबर सार्वजनिक भयो।
बिवेन्द्र नेपालीमाथि भएको जातीय विभेदको खबर सार्वजनिक भएको एक दिन बित्न नपाउँदै असार २५ गते अर्थात् शुक्रबार फेरि एउटा अर्को जातीय विभेदको घटना सार्वजनिक भएको छ। यो घटना हो, कैलालीमा अन्तरजातीय विवाह गरेको एक जोडीको।
कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र टीकापुर नगरपालिकाकी मालती रावल अन्तरजातीय विवाह गरेर २१ दिनदेखि जंगलमा लुकेर बसिरहेका छन्। केटीपक्षका आफन्तले विश्वकर्माविरुद्ध जवरजस्ती विवाह गरेको मुद्धा हाल्ने धम्की र रुकुम हत्याकण्डामा नवराजलाई मारेजसरी उनलाई पनि मारिदिने धम्की दिएपछि अहिले यो जोडी २१ दिनदेखि जंगलमा लुकेर बसिरहेको छ।
उनीहरुले जंगलमा एउटा भिडियो बनाएका छन्, जसमा उनीहरुले आफूहरुको ज्यान जोखिममा भएको बताउँदै आफूहरुलाई सबैले सहयोग गरिदिन याचना गरेका छन् । करिब डेढ मिनेटको उक्त भिडियो दलित अभियन्ता तथा अध्येता जेबी विश्वकर्माले नेपाल प्रहरीलाई ट्याग गर्दै आफ्नो ट्वीटरमा सेयर गरेका छन् ।
‘हाम्रो घरपरिवारले नमानेका कारण हामीहरु अहिले जंगलमा छौँ,’ विश्वकर्माले यति भनेर आफूहरु बसिरहेको जंगल देखाएका छन्। पृष्ठभुमीमा चराचुरुङ्गीको आवाज प्रष्टै सुन्न सकिन्छ।
‘अहिले हामीलाई तपाईंहरुको एकदमै साथ र सहयोग चाहिरहेको छ। यो भिडियो हामीले त्यसैले बनाएका हौँ।’ युवकले भनेका छन्।
‘घरको मान्छेले जवरजस्ती विवाह भनेर मुद्धा हालिरहेका छन्, हामीलाई के के भनेर धम्क्याइरहेका छन् । हामीहरु जवरजस्ती विहे गरेर आएका होइनौँ, आफ्नै मनले आएका हौँ,’ युवकपछि युवतीले भनेकी छन्, ‘मेरो पेटमा बच्चा छ । हामीहरु एकअर्काबाट टाढा हुन सक्दैनौँ । टाढा हुन चाहेका पनि छैनौँ । प्लिज, हामीलाई सहयोग गरिदिनुहोला ।’
युवकले भिडियोमा विहेलगत्तै युवतीका दाइले रुकुम हत्याकाण्डमा नवराजलाई मारिदिने भन्दै म्यासेज पठाएको बताएका छन् । ‘घरपरिवारदेखि रुकुम काण्ड दोहोरिन सक्छ । दाइले मलाई ‘रुकुम काण्ड याद छ कि नाइँ?’ भन्नुभएको छ । हामीले उहाँले पठाएको म्यासेजको स्क्रिनसट पनि राखेका छौँ ।’ युवकले त्यसपछि स्क्रिनसट देखाएका छन् ।
के भन्छ त प्रहरी ?
हामीले यस विषयमा बुझ्न भजनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर साउदसँग सम्पर्क गर्यौँ । प्रहरी निरीक्षक साउदले युवक आफूहरुको सम्पर्कमा आइसकेको र छिट्टै प्रहरी कार्यालय ल्याउन लागिएको जानकारी दिए ।
‘आज विहान युवक हाम्रो सम्पर्कमा आइसकेका छन् । युवक र युवती दुवै पक्षलाई हामीले यहाँ ल्याएर सोधपुछ गर्ने योजना बनाएका छौँ,’ नेपाली पब्लिकसँग निरीक्षक साउदले भने, ‘दुवै पक्षका कुरा सुनेर हामी यो केसलाई अगाडि बढाउँछौँ ।’ निरीक्षक साउदका अनुसार युवक बिहीबार राती घर आएका थिए ।