फैलिएको कोभिड १९ महामारी र त्यसको दोश्रो लहरबाट हाम्रो देश नेपाल पनि सुरक्षित रहन सकेन। पेशाले एक नर्स म राजधानी अवस्थित करुणा अस्पतालमा कार्यरत छु। कोभीड १९ संक्रमितहरुको उपचारार्थ म नियमित जसो खटिएकै थिए।
यस विषम परिस्थितिको सामना गर्न सरकारलाई हामी जस्तै मेडिकलकर्मीहरुको साथ चाहिने र मैले पनि उक्त साथ दिएर मेरो पेशागत धर्म र मानवीय धर्म निभाउनुपर्छ भन्ने महसूस गर्दै हिम्मत साथ अगाडि बढिरहेको थिए। हरेकदिन जसो संक्रमितहरुको उपचारमा खटिदा मलाई पनि संक्रमणको जोखिम देखेर हुनसक्छ वा अन्य केहि डरले मेरा आफन्त र नजिकका साथीभाईहरुले अस्पताल जाने क्रम अहिले नगर्ने पो हो कि भनेर बारम्बार भनिरहे तर मैले मेरो पेशागत धर्म र मानविय धर्मबाट विचलित नहुने दृढ प्रतिज्ञा गरिसकेको थिए। म विचलित भइन र निरन्तर आफ्नो क्षमताले भ्याएसम्म कोभीड १९ संक्रमितहरुको उपचार करुणा अस्पतालमा रहेर गरिरहे।
यसै क्रममा म मा पनि कोभीड १९ को केहि लक्षणहरु देखा पर्न थाले। केहि लक्षण देखिएको र कोभीड १९ संक्रमितको उपचारमा निरन्तर रहेकोले मैले पनि पिसिआर टेस्ट गर्ने निर्णय गरे। गत वैसाख १८ गते म मा पनि यस कोभीड १९ पोजिटिभ देखा पर्यो। आफ्नो नियमित ड्यूटी सकेर आफ्नो कोठामा बसिरहेको अवस्थामा मैले आफुलाई कोभीड १९ भएको सूचना प्राप्त गरे। आफुँ कोभीड १९ संक्रमित भएकोमा भन्दा पनि कोठामा सँगै रहनुभएको मेरो श्रीमानलाई पनि कतै मैले कोभीड १९ सारे कि? भन्ने डर मलाई हुन थाल्याे।
आफ्नै कोठामा बस्दा एउटै घर अनि तल्लामा बस्ने अरुहरुलाई पनि संक्रमण फैलेला कि भन्ने डर, अनि अर्को तर्फ आफ्नै कोठामा बस्दा श्रीमानलाई पनि कोभीड १९ हुन सक्ने जोखिम र डरले मैले आइसोलेशन बेडहरु खोज्ने प्रयास गरे। आफै कार्यरत अस्पतालमा कुनै बेड खाली थिएन, र अस्पतालमा जटिल अवस्थामा पुगिसकेका संक्रमितहरुको उपचार गरिनुपर्छ भन्ने मान्यता मैले पनि राखे र राजधानीमा काही कतै आइसोलेशन बेडहरु पाइन्छ कि भनेर खोज्ने प्रयास गरे। कोभीड १९ संक्रमण म मा देखिएपछि आत्तिएका मेरा आफन्तहरुलाई म चाडै ठिक हुनेछु, नआत्तिनु भन्दै मैले बेड खोज्न मेरा बहिनीहरुलाई अनुरोध गरे।
कैलालीमा रहेका मेरा बहिनीहरुले इंटरनेटको माध्यमबाट सकेसम्म प्रयास गरे र मेरो लागि एउटा बेड खोजिदिए। जैन भवन कमालादीमा रहेको आइसोलेशन बेड मैले प्राप्त गरे। मैले बेड प्राप्त गर्दा करिब करिब धेरै रात परिसकेको थियो र भोलिपल्ट मात्र आइसोलेशन तर्फ जाने निर्णय गर्दै त्यस रात म आफ्नै कोठामा नै रहे। संक्रमित नहुँदा जस्तो परिस्थिति संक्रमित भइसकेपछि नहुदो रहेछ। हरेकदिन कोभीड १९ को संक्रमणले छटपटाएको विरामी देखेको मैले मेरो श्रीमानलाई उक्त संक्रमण नदेखियोस् भन्ने कामना बाहेक केहि गर्न सकिन र सकेसम्म सावधानीका सबै उपाय अपनाएर म त्यस रात कोठामै निदाए।
भोलिपल्ट अर्थात वैसाख १९ गते म कमालादीमा अवस्थित जैन भवनमा संचालित आइसोलेशन सेन्टरमा पुगे। सामान्यतया एउटा कोठा भित्र दुइजना संक्रमित राखिने गरेको रहेछ, तर मलाई भने उहाँहरुले अलग्गै एउटा कोठामा बस्ने वातावरण मिलाइ दिनुभयो। जैन भवनमा संचालित उक्त आइसोलेशन मैले धेरै व्यवस्थित पाए। संक्रमितहरुलाई ४ पटक खाना र खाजाको व्यवस्था आईसोलेशन संचालकहरुले गर्नुभएको रहेछ।
त्यस्तै राति एक पटक दुध बेसार पनि हरेक संक्रमितहरुलाई संचालकहरुले दिइरहनुभएको थियो। संक्रमितहरुलाई नियमित स्वास्थ्य परामर्श र मनोचिकित्सक सल्लाह प्रदान गर्दै संक्रमितहरुको हौशला बढाइरहनुहुने जैन भवन कमालादीमा अवस्थित आईसोलेशन संचालकहरुमा म धन्यवाद नदि रहन सक्दिन।
पेशाले म एक नर्स भएको आईसोलेशनमा रहनुभएकाहरुलाई थाहा थियो। कहिले काँही कोही संक्रमित महिलाहरुलाई गारो परेको अवस्थामा मलाई उहाहरुले बोलाउने गर्नुहुन्थ्यो, आफैँ संक्रमित र डरमा रहदा रहदै पनि मैले मेरो पेशागत धर्म निभाउन छोडिन। आफै संक्रमित रहेर आईसोलेशनमा रहदा पनि मैले मेरो क्षमता र ज्ञानले भ्याएसम्म अन्य संक्रमितहरुको सेवा गरिरहे। यहि विचमा आफुमा कोभीड १९ नेगेटिभ पाइएको मेरो श्रीमानले मलाई फोन मार्फत जानकारी गराउनुभयो। म आफुमा रहेको कोभीड बिर्सेर श्रीमानमा कोभीड नरहेको खुसीमा रमाए ।
आफैलाई केहि गार्हाे महसूस गर्दा गर्दै पनि मैले आईसोलेशनमा रहेका अन्य संक्रमितहरुलाई हौसला दिरहे र उहाँहरुको पनि सेवा गरिरहे। म भन्दा अगाडि उहाँहरु सबैलाई कोरोना संक्रमणबाट मुक्त गरेर मात्र म मेरो कोठा फर्किन पाउ भनि म हरेक दिन प्राथना गरिरहेको हुन्थे।
करिब १० दिनको आइसोलेशन बसाइ अनि चिकित्सकको सल्लाह बमोजिम मैले आईसोलेशन सेन्टरको आफ्नो बसाईलाई अन्त्य गरे। म मा कोभीड १९ को संक्रमण नेगेटिभ आइसकेको थियो र म फेरी करुणा अस्पतालमा रहेका कोभीड १९ संक्रमितहरुको उपचारमा फर्किए। यसरी कोभीड १९ को आफै माथिको जोखिम कायम राखेर यस रोग सँग लडिरहेको म जस्तै स्वास्थ्यकर्मी हरुमाथि आक्रमण भएको समाचार कहिले काही प्रकाशित हुदा भने मन खिन्न हुदो रहेछ।
आफैँ संक्रमित भइन्छ भन्ने थाहा हुदाहुदै पनि संक्रमित हरुको ज्यान जोगउनपर्छ भनेर रातदिन खटिरहेका स्वास्थ्यकर्मीहरुले संक्रमणको डरसँगै कहिले कसले कतीबेला के कसरी आक्रमण गर्ने हो भन्ने डरले हरेक दिन उपचार गर्नुपर्ने अवस्था अब आउन नदिने कि? स्वास्थ्यकर्मीको लागि हरेक संक्रमितको जीवनको मूल्य रहेको हुन्छ तर स्वास्थ्यकर्मीको नियन्त्रण बाहिरको परिस्थितिमा स्वास्थ्यकर्मिले के गर्ने?
फेरि पनि कोभीड १९ विरुद्ध लड्न सबै संक्रमितहरुलाई सबैले हौसला प्रदान गरिरहन अनुरोध गर्दै सम्पूर्ण कोभीड १९ संक्रमितहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु भने आफ्नो ज्यान जोखिममा राखेर संक्रमितहरुको उपचारमा पेशागत धर्म र मानविय धर्म निभाइरहनुभएका सम्पूर्ण चिकित्सक नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुमा हार्दिक आभार सहित नमन प्रकट गर्दछु।