जिल्लामा रहेका ३ सय ४८ एचआइभी संक्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो। एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो।
फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि सापकोटाका अनुसार बीमा गर्नेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका संक्रमित रहेका छन्। स्थानीय तहहरुले नीति तथा कार्यक्रममा राखेर उनीहरुको बीमा गरेका हुन्। संक्रमित खुलेर आउने वातावरण बनाउनका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
बीमा गरिएका परिवारमा एकभन्दा बढीसमेत संक्रमित रहेको सापकोटाले बताएका हुन्। जिल्लामा अहिले एक हजार ९ सय २६ संक्रमित छन्। तीमध्ये १ सय ४७ बालबालिका हुन्। फाउण्डेशनमा दर्ता भएर औषधि सेवन गर्नेमा ४७ बालबालिका, ४सय ७१ महिला र ४ सय ५१ पुरुष सहित ९ सय ६७ रहेका छन्।
सन् २०२० मा गरिएको परीक्षणका क्रममा नयाँ ७९ जनामा एड्स संक्रमण भेटिएको छ। थपिएका व्यक्तिमध्ये चार बच्चा रहेका छन्। आठ हजार ७ सय ६२ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमित थपिएको फाउण्डेशनका स्रोत व्यक्ति डा युवानिधि बसौलाले जानकारी दिए।
बसौलाका अनुसार सन् २०२० मा संक्रमितमध्ये १५ को मृत्यु भएको छ। मृत्यु हुनेमा एक कोरोना संक्रमण, चार क्यान्सर, पाँच क्षयरोग र अन्य अत्यधिक मदिरा सेवनका कारण रहेका छन्।