काठमाडौं– पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोणा संक्रमण पुष्टि भएको छ । देशभरका ८ प्रयोगशालाबाट ८ हजार ८६१ जनाको पिसीआर नमूना परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई १सय ११ जना घर फर्किएका छन् । यो सहित कोरोना मुक्त हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।
आज संक्रमण पुष्टि भएका सहित ५ हजार ६७२ जनामा सक्रिय कोरोना संक्रमण रहेको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा १० हजार ९३४ जना रहेका छन् । सङ्क्रमितमध्ये ७२ प्रतिशत निको भएको र मृत्यु हुनेमा ०.२८ प्रतिशत रहेको छ ।
काठमाडौँ उपत्यकामा आज थप ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २२, ललितपुरमा आठ र भक्तपुरमा एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको हो । पर्सामा शनिबार साँझ ६८ वर्षकी एक महिलाको निधन भएको छ । मधुमेहको बिरामी उक्त महिलामा यही साउन १६ गते कोरोना पुष्टि भएको हो । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ जना पुगेको छ ।
मन्त्रालयका अनुसार रौटहट र कैलाली जिल्लामा पाँच हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ भने भोजपुर, सङ्खवासभा, रसुवा, मनाङ र मुस्ताङ गरी पाँच वटा जिल्ला कोरोना सङ्क्रमण शून्य रहेको छ ।