काठमाडौं– बन्द भएको उद्योगको सेयर कारोबार भएको छ । आज सूचना निकालेर बन्द भएको श्रीराम सुगर मिल्सको सेयर कारोबार भएको हो ।
मिल्सले आज बिहान नेप्सेलाई उद्योग बन्द भएको सूचना दिएको थियो । मिल्सको सेयर प्रतिकित्ता ३ सय ३८ मा कारोबार भयो । प्रतिकित्ता ३ सय २२ मा कारोबार सुरु भएको सो कम्पनीको सेयरमा एकाएक वृद्धि भई ३ सय ३८ पुग्यो तर उद्योग बन्द भएको सूचना भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।
जानकारका अनुसार उद्योगले चर्चेको जग्गा बिक्री गरी उखु किसान, कर्मचारीलगायत अन्यलाई समेत भुक्तानी गर्ने तयारी गरेको भन्ने हल्ला बजारमा फैलिएसँगै श्रीराम सुगर मिल्सको सेयरमा वृद्धि भएको हो ।
कर्मचारीलाई तलबभत्तासम्म खुवाउन नसकेको भन्दै उद्योगले आइतबारदेखि बन्द भएको नेप्सेलाई जानकारी दिएको छ । आव २०७५÷७६ सम्म कम्पनीको कुल घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ पुगेको छ ।
नेपालको पुरानोमध्येको एक श्रीराम सुगर मिल्स बन्द भएपछि रौतहट आसपासका किसानलाई भने आफूले लगाएको उखु बिक्री गर्न समस्या देखिएको छ । मंगलबारदेखि भने सो कम्पनीको सेयर कारोबार हुनेछैन ।
