पछिल्लो समय केहि खुकुलो देखिएको लकडाउन बिहिबारदेखी पुनः कडा हुने संकेत देखिएको छ। मगंलबार एकैदिन ५७ जना कोरोना संक्रमित फेला परेपछि गृहमन्त्रालयले सवारी आवागमनको लागि गरेको व्यवस्थामा फेरबदल गरेको छ।
बदलिएको व्यवस्थाअनुसार अब एक जिल्लाबाट अर्को जिल्ला जान–आउन जटिल बनेको छ। मगंलबार गृहमन्त्रालयले नयाँ व्यवस्थाबारे जानकारी गराउदैँ यसअघि विभिन्न निकायमार्फत जारी भएका ई–पासलगायत रद्द गरेको छ।
अब अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्ला जाने सवारीको लागि पास जारी गर्नुपरेको खण्डमा जारी गर्ने जिल्ला जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृति लिनुपर्नेछ भने काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने छ। यसरी जारी गरिने पासमा गृहमन्त्रालयको स्विकृति नम्बर समेत समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
पास स्विकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्नेछ। यसैगरी पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सवारी भेटिएको जिल्लाले नै सवारी आवागमन रोक्ने प्रावधान ल्याइएको छ।
पासबिना अब कुनै पनि सवारी चलाउन पाइने छैन् भने संस्थाको परिचयपत्र देखाएर पनि सवारी चलाउन रोक लगाउने निर्णय भएको छ।