दैलेख– दैलेख सदरमुकाममा भारतीय प्रहरी पोसाकसहित खुलेआम घुमिरहेका छन्। भारतीय प्रहरी पोसाक सहित बजारमा हिँडेको देखेपछि स्थानीयले विरोध गरेका छन्।
स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिई भारतीय प्रहरी दैलेख आएको हो। भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आइपुगेको हो।
भारतको हरियाणा प्रदेश यमुनानगर जिल्लाबाट तीन जना प्रहरीसहित चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताएका छन्। भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको उनीहरुको भनाइ छ।
भारतीय प्रहरीका सई विजय विवेकले आफूहरुलाई अन्य देश जाँदा पोसाक लगाउने अनुमति चाहिन्छ भन्ने बारेमा जानकारी नभएको पनि बताए।अहिले उनीहरु जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा छन्।