काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक सुरु भएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बैठक सुरु भएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
सातै प्रदेशमा भेला सकेको इतर पक्षले राष्ट्रिय भेला गर्ने तयारी गरेको छ ।
बिहीबार नेता विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो भने नेता खड्का र डा. शेखर कोइरालाबीच पनि छलफल भएको थियो ।
कांग्रेसको आन्तरिक विवाद मिलाउन इतर पक्षले १४औँ महाधिवेशेनको पूरानो कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको कार्यसमिति मिलाएर नयाँ गठन गर्नुपर्ने माग राख्दै आएको छ ।
बैठकमा हालसम्म पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्रीहरू कृष्ण सिटौला, डा. शशांक कोइराला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री महालक्ष्मी डिना उपाध्याय, सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर, कर्णाली सभापति ललितजंग शाही, नेताहरू मीन विश्वकर्मा, एनपी साउद, डा. प्रकाशशरण महत, रमेश लेखक, कृष्णप्रसाद पौडेल, आनन्दप्रसाद ढुंगाना, मोहन बस्नेतलगायत सहभागी भइसकेका छन् ।