काठमाडौं — स्वास्थ्यमा समस्या आयपछि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अपरेशन सकिएको छ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन सकिएलगतै उनलाई आईसीयूमा लगिएको छ।
अपरेसन मंगलबार मध्यान्ह १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको उनका प्रेस सल्लहकार सूर्य थापाले जनकारी दिए।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि आईसीयुमा लगिएका प्रमलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने बताइएको छ।
यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्राण्डी अस्पतालमा तीन पटक डायलाइसिस गरिसकिएको छ। तीन दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।
प्रमको एपेन्डिसाइटिसको अपरेशमा संलग्न डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो। सोमबार रातभर पेट दुखेर पखाला लागेपछि प्रमलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो।