काठमाडौं– ललितपुर महानगरपालिकामा बन्ने साइकल लेनका लागि स्ट्याण्ड तयार भएको छ। कुपण्डोल–पुल्चोक–जावलाखेल–मंगलबजार साइकल लेन निर्माणका लागि ललितपुर महानगरपालिकाले ३ ठाउँमा साइकल स्ट्याण्ड तयार पारेको हो।
महानगरका प्रवक्ता राजु महर्जनको अनुसार पुल्चोकस्थित महानगरको कार्यालय परिसरसहित जाउलाखेल र मंगलबजारमा साइकल स्ट्याण्ड तयार भएको छ। प्रवक्ता महर्जनले ती स्ट्याण्डमा ५० वटा साइकल अट्ने जनाएका छन्। बाँकी ५० वटा साइकल अट्ने स्ट्याण्ड पनि चाँडै तयार हुने उनको भनाई छ।
स्टयाण्ड बनाउनका लागि महानगरले ५ लाख रुपैयाँमा ठेक्का दिएको छ भने साइकल लेनका लागि पनि महानगरले ठेक्का लगाइसकेको छ। प्रवक्ता महर्जनले कुपण्डोल–पुल्चोक–जाउलाखेल–मंगलबजार सडक खण्डमा साइकल लेन बनाउनका लागि ३२ लाखमा ठेक्का लगाइएको जानकारी दिए। रमिट कन्ट्रक्सनले साइकल लेन निर्माणको ठेक्का पाएको छ।
ललितपुर महानगरपालिका आफैंले साइकल लेन बनेपछि साइकल यात्रीको सुरक्षा साथै वातावरणलाई समेत सकारात्मक प्रभाव पार्ने भन्दै कुपण्डोलदेखि मंगलबजारसम्म साइकल लेन बनाउन बजेट समेत विनियोजन गरेको थियो।महानगरले ठेक्का प्रक्रिया सकिएको र आगामी शनिबारदेखि नै काम शुरु हुने जनएको छ। प्रवक्ता महर्जनले भने ‘शनिबार कुपण्डोलमा शिलान्यास कार्यक्रम आयोजना गरिएको छ, त्यही दिनदेखि काम शुरु हुन्छ।’
साइकल लेन बनाउन महानगरले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। महानगरका मेयर चिरिबावु महर्जनले सडक विस्तार नगरी अहिले भएकै सडकको छेउमा १.२ मिटर क्षेत्रमा साइकल लेनका रुपमा रेखांकन गरिने बताएका छन्।
उनले अहिले बार चाहीँ नलगाइने बताएका छन्। साइकल लेनमा अन्य सवारी साधनहरु गुड्न पाउने भएपनि त्यस क्षेत्रमा साइकललाई प्राथमिकता दिनुपर्ने मेयर महर्जनको भनाई छ। उनको अनुसार लामो समयदेखि साइकल लेनको माग आउदै गरेकाले महानगरले बनाउन लागेको हो।
मेयर महर्जनले धुवाँधुलोका कारण वाक्क भइसकेको र इन्धन प्रयोग हुने सवारी साधनले प्रदुषण फैलाइरहेको सुनाए। उनले थपे, ‘साइकल चलाउँदा प्रदुषणको चिन्ता भएन, स्वास्थ्यको लागि पनि यो फाइदाजनक छ।’ महानगरले हालको लागि यति गरिए पनि विस्तारै आधुनिक तरिकाले साइकललेन तयार गरिने बताएको छ।