अत्तरीया– कैलालीको गोदावरी नगरपालिकाको नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको छ। क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत गोदावरी नगरपालिकाको–२ तेघरीमा खरीद गरिएको जग्गामा नयाँ भवन निर्माणका लागि ठेक्का सम्झौता भएको हो।
क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइले रु २० करोडको लागतमा शर्मा कन्ट्रक्सनसँग २० महिनाभित्र सक्ने गरी ठेक्का सम्झौता भएको भवन निर्माण डिभिजन कार्यालयका इञ्जिनीयर बृजलाल चौधरीले बताएका छन्।
नगरपालिकाको भवन निर्माणका लागि तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरीद गरिएको थियो। नयाँ भवन सुविधा सम्पन्नसहित साढे तीन तलाको बन्ने चौधरीको भनाइ छ। नगरपालिका स्थापनाकालदेखि नै भाडाको घरमा सञ्चालन हुँदै आएकाले कार्यसम्पादनमा समस्या हुने गरेको छ।
बाह्र वटा वडा रहेको सो नगरपालिकाका १० वटा वडा कार्यालय भाडाको घरबाट सञ्चालित छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकामा एशियाली विकास बैंकको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना लागू भएको छ भने कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्तनगर नगरपालिकमा सो आयोजना लागू भएको छ।
गोदावरी नगरपालिमा सो आयोजनामार्फत फोहर व्यवस्थापन, ढल निकास, भवन निर्माण र १६ किलोमिटर पक्की सडक बन्नेछ।
गोदावरी नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गा प्राप्तिसँगै भवन निर्माणको ठेक्का समझौता भइसकेकाले आयोजना कार्यान्वयनमा तीव्रता आउने प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताएका छन्। आयोजना लागू भएका अन्य नगरपालिकामा फोहर व्यवस्थापनका लागि जग्गाको टुङ्गो लागि नसकेकाले कार्यान्वयनमा ढिलाइ भइरहेको जनाइएको छ। (रासस)