बनेपा– खानीखोला गाउँपालिका–६ का आसमान थोकरले गुम्बाको पुनःनिर्माणको कामबारे बुझन् पुनःनिर्माण प्राधिकरणमा धाएको चार वर्ष भयो।
खानीखोला गाउँपालिका–६ का शुभशक्ति मङ्गल गुम्बा व्यवस्थापन समितिका सदस्य थोकर भूकम्प गएको चार वर्ष वितिसक्दा पनि रकम नपरेको भन्दै पटक–पटक पुनःनिर्माण प्राधिकरण धाउँदै आएको छ।
‘बल्ल गुम्बा पुनःनिर्माणको लागि रकम आउने भयो भन्ने कुरा भएको छ, हेरौं कहिलेसम्ममा प्राप्त हुन्छ ?’ थोकरले भने। विसं २०७२ मा गएको भूकम्पले सो गुम्बाको भवन पूरै चर्केको छ । ‘बुद्धको मूर्तिमा भने कुनै क्षति भएको छैन।’ थोकरले भने, ‘भवन मात्रै पुनःनिर्माण गर्न पाएपनि सार्दाखेरी केही टुटफुट भएमा त्यसको मर्मत गर्नुपर्छ, होइन भने सबै व्यवस्थित नै छ।’
रोशी गाउँपालिका–१० बाल्टिङका कर्म धुक थर्पे्लिङ गुम्बाका प्रमुख लामा कर्म सिं लामाले बल्ल गुम्बा बनाउनका लागि प्रक्रिया अगाडि बढेको बताएका छन्। पटक÷पटकको प्रयत्नपछि बल्ल काम हुने भन्ने खालको कुरा आएपछि आवश्यक प्रक्रिया पूरा गरी तयारी अवस्थामा रहेको उनले बताएका छन्। ती गुम्बा नमूना मात्रै हुन।,
काभ्रेपलाञ्चोक जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुगेको गुम्बा पुनःनिर्माणको काम अझै शुरु भएको छैन। दातृ निकायबाट प्रदान गर्ने भनिएको सहयोग बेलैमा प्राप्त नहुँदा गुम्बा पुनःनिर्माणको काम प्रभावित भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले माथिबाट अख्तियारी आइसकेकोले अव छिट्टै निर्माण प्रक्रिया अगाडि बढ्ने बताएका छन्। गुम्बा पुनःनिर्माणको लागि एक्जिम बैंङ भारत सरकारले सहयोग गर्ने भएको र त्यसमा प्रक्रिया ढिला भएकाले काम अगाडि नबढेको आचार्यको भनाइ छ।
‘अहिले मर्मतको काममा नेपाल सरकारले नै गर्ने र पुनःनिर्माणको काम भारत सरकारले गर्ने कुरा भएपछि त्यसको लागि अब प्रक्रिया अगाडि बढिसकेको छ।’ उनले भने, ‘गुम्बा पुनःनिर्माणको काम धमाधम सम्झौता गर्छाैं।’ जिल्लामा गुम्बा पुनःनिर्माणको लागि पाँच वटा समूहमा वर्गिकरण गरी ११२ वटा गुम्बा लाभग्राहीको सूचीमा सूचीकृत भएका छन्।
जसमध्ये १ गे्रडमा २० वटा, २ ग्रेडमा १३ वटा, ३ ग्रेडमा १५ वटा, ४ ग्रेडमा १६ वटा र ५ ग्रेडमा ४८ वटा गुम्बा परेका छन्। जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले ग्रेड १ देखि ३ सम्मको गुम्बा मर्मतमा मात्रै पर्ने र ग्रेड ४ र ५ को मात्रै पुनःर्निर्माणमा पर्ने बताएका छन्।
त्यसरी आएका गुम्बाहरुले १ ग्रेडको ३ लाख, २ ग्रेडको लागि एक तलाको भए ५ लाख र दूई तलाको भए दश लाख तथा ३ गे्रेडकोलाई एक तलाको लागि दश लाख र दूई तलाभन्दा बढी भएमा २५ लाखसम्मको अनुदान पाउने ब्यवस्था रहेको कार्यालयले जनाएको छ।
४ र ५ ग्रेडको गुम्बाहरुको हकमा भने कस्तो प्रकृतिको बनाउने र कतिको बनाउने भन्ने निश्चित गरेर जति पनि लागतको बनाउन सकिने तर त्यसको लागि सम्बन्धित गुम्बा र प्राधिकरणले पचासपचास प्रतिशत लागत ब्यहोर्ने गरी पुनःनिर्माण गर्न सकिने उनले बताएका छन्।
लामो समयपछि बल्ल पुनःनिर्माण र मर्मतका लागि काम गर्नुपर्ने गुम्बाको सङ्ख्या सूचीकृत भएपछि असारको अन्तिम सातामा मात्रै रकम विनियोजन गरी पठाएकोले काम शुरु नै गर्न नपाई प्राप्त रकम फ्रिज गएको थियो। जिल्लामा भएका गुम्बामध्ये कतिपयले बेलैमा नै सम्बन्धित निकायले पुनःनिर्माणको लागि चासो नगरेको भन्दै गुम्बा व्यवस्थापन समिति आफैले नै पुनःनिर्माण गरिसकेका छन्। (रासस)