काठमाडौं– कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल नेपाल फर्काउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।
संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई तत्काल स्वदेश फर्काउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयलाई निर्देशन दिएको हो।
कामको खोजीमा कुवेतमा अवैधानिक ढंगले पुगेका २१ जना नेपाली कामदारलाई कुवेत सरकारले थुनामा राखेको छ। थुनामा राखेका उनीहरुको दण्ड जरिवानी तिरेर भएपनि तत्काल फिर्ता पठाउन समितिले सरकारलाई निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए। थुनामा रहेका ती नागरिकहरुका लागि ५४ लाख जरिवान तिरेर नेपाल फर्काउन सकिने कुवेतस्थित नेपाली दूतावासको भनाई छ। त्यसैगरी समितिले उनीहरुलाई अवैधानिक ढंगले कुवेत पुर्याउने म्यान पावर कम्पनीमाथि पनि कडा कार्वाही गर्न सरकारलाई सचेत गराएको छ।
यता, सरकारले भने कुवेतमा थुनामा रहेका २१ जना नेपाली कामदारलाई स्वदेश फिर्ता गराउन कुवेत सरकारसँग छलफल भइरहेको जानकारी दिएको छ। परराष्ट्र सचिव शंकरदास बैरागीले पनि उनीहरुलाई स्वदेश फर्काउन त्यहाँस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको बताए। उनले समितिको बैठकमा उनीहरुमाथि तोकिएको दण्ड जरिवाना मिनाहा गर्न पनि कुवेत सरकारसँग नेपाली दूतावासले कुरा गरिरहेको पनि सुनाए।
समितिका सदस्यहरुले बैठकमा कामको खोजीमा अवैधानिक ढंगले कुवेत पुगेका ती नागरिकहरुलाई स्वदेश फिर्ता गराउन पहल नगरेको भन्दै सरकारको आलोचना गरेका थिए। समितिका सदस्य प्रकाश रसाईलीले कुवेतमा बन्धक बनाइएका नेपाली कामदारलाई तत्काल फिर्ता गराउन पनि सरकारलाई सचेत गराए।
समितिका सदस्यहरुले नेपाली कामदारहरुलाई अवैधानिक ढंगले वैदेशिक रोजगारमा लग्ने म्यानपावर कम्पनीको छानविन गरी कडा कार्वाही गर्न पनि सरकारसँग माग गरेका थिए।