नवलपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ।
त्यहाँका १० जना व्यक्तिको नाममा रहेको ७५ रोपनी जग्गाबाट बाटो विस्तारका लागि आवश्यक माटो लैजाने सहमति भएको गैँडाकोट नगरपालिकाले जनाएको छ। रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए।
सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले करसमेत तिर्ने पौडेलले बताएका छन्। माटो लैजाने विषयमा गैँडाकोटको भागरमा भएको छलफलका क्रममा नगर पौडेलले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ ।
मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्नेलगायतका विभिन्न सहमति भएको बताएका छन्। पूर्व–पश्चिम राजमार्गको गैँडाकोट नगरपालिका–१४ मा पर्ने अमरापुरी चोकबाट उत्तरतर्फको भागरको माटो स्थानीयले बिक्री गरेका हुन्। प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएको गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताएका छन्।
माटो लैजाने पक्षले सम्झौताविपरीत काम गरेको अवस्थामा ठेक्का रद्द गराएर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको उनको भनाइ छ। सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले जनाएको छ। (रासस)