दमौली– योङ लिभिङ फाउण्डेशनको सहयोगमा निर्मित जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ।
करीब रु एक करोडको लागतमा निर्माण भएको आठकोठे भवनको साँचो गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला र योङ लिभिङ फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमाललाई हस्तान्तरण गरेको हो।
फाउण्डेशनको आर्थिक सहयोग र जनश्रमदानमा उक्त भवन निर्माणका लागि शुक्लागण्डकी नगरपालिकाले समेत रु सात लाख सहयोग उपलब्ध गराएको थियो। भवन निर्माणका लागि फाउण्डेशनमा आबद्ध विदेशी नागरिकले श्रमदान गरेका थिए। नयाँ भवन निर्माणपछि विद्यार्थीलाई पठनपाठन गराउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमालले जानकारी दिएका छन्।
फाउण्डेशनका नेपाल निर्देशक सिंहले प्रदेश राजधानी पोखराको नजिक रहेर पनि शुक्लागण्डकी नगरभित्रका विद्यालयहरूको अवस्था नाजुक भएकाले नयाँ भवन निर्माण गरिदिएको बताए। उनका अनुसार फाउण्डेशनले जिल्लामा १६ विद्यालय, वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन बनाउने सम्झौता गरेको थियो।
सम्झौता अनुसार उक्त नगरपालिकामा नौ विद्यालय, एक वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन, म्याग्दे गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरनी गाउँपालिकामा तीन विद्यालय भवन बनाउने सम्झौता भएको छ। प्रदेशसभा सदस्य कोइरालाले उक्त फाउण्डेशनका स्वयंसेवकको मिहिनेत र लगानीको प्रशंसा गर्दै सबैमा मानव सेवा र सामाजिक सेवाको भावना जागृत हुनुपर्नेमा जोड दिए।
सन् २००९ मा अमेरिकाका डा गेरी योङले स्थापना गरेकाे फाउण्डेसनले विश्वका विभिन्न मुलुकमा सेवा गर्दै आइरहेको छ। फाउण्डेशनमा आबद्ध अधिकांश मुलुकका ३० लाखभन्दा बढी सदस्यले विश्वका गरीब जनता र विकासोन्मुख मुलुकमा पुगेर सहयोग गर्दै आइरहेको छ।
विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि क्षतिग्रस्त संरचना पुनःनिर्माणमा सघाउन उक्त फाउण्डेशन नेपालमा प्रवेश गरेको थियो। भूकम्पलगत्तै फाउण्डेशनका संस्थापक गेरीले दोलखाको क्षतिग्रस्त यार्सा गाउँ पुगेर भूकम्पपीडितलाई न्यानो कपडा र सिरक वितरण गर्नाका साथै त्यहाँका बासिन्दाको पीडामा मल्हम लगाउन गाउँको पुनःनिर्माण गरेको थियो।
विसं २०७३ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग पुनःनिर्माणका लागि रु नौ करोड खर्च गर्ने सम्झौता गरेको फाउण्डेशनले दुई वर्षको अवधिमा ९९ घर र एउटा विद्यालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ। (रासस)