नेपालगञ्ज– नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले अवैध हतियारसहित पक्राउ परेका आफ्ना नेता छुटाउन नेपालगन्ज बन्दको आह्वान गरेको छ। बन्दका कारण उद्योग ,शिक्षण संस्था, यातायात प्रभावित भएको छ।
तरुण दलको अनुसार तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित पक्राउ परेका नेता कार्यकर्ता छुटाउनका लागि बन्दको आयोजना गरिएकोे हो। इलाका प्रहरी कार्यालय कोहलपुरले १४ कात्तिकमा नेपालगन्जबाट पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको थियो।
प्रहरीले उनीहरूलाई फसाउन आफैं पेस्तोल गाडीमा राखेर समातेको तरुण दलले आरोप लगाएको छ। एक रिसोर्टमा पार्किङ गरि राखेको निजी कार चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटको मुनि लुकाइराखेको मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोलसहित शाहसहितलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रहरीले उक्त पेस्तोल शाहकै गाडीबाट बरामद भएको बताउँदै आएको छ। तर तरुण दलका एक नेतालाई धम्कीदिएको अडियो सार्वजनिक भएपछि प्रहरीको आलोचना भएको थियो।