एजेन्सी– यूएईमा नेपालका बालबालिकाले बनाएका चित्र प्रदर्शन गरिएको छ। नेपालका विभिन्न विद्यालयमा अध्ययन गर्ने ६ देखि १२ वर्ष सम्मका उमेरका बालबालिकाले बनाएका ३० वटा चित्र आबुधाबीमा प्रदर्शन गरिएको हो।
गत आइतबारदेखि चार दिनसम्म नेपाली बालबालिकाहरुले बनाएका चित्रसँगै विश्वका एक सय २४ देशका बाल चित्रकारहरुको चित्रहरु आबुधाबीको अटिज्म सेन्टरमा प्रदर्शनमा राखिएको थियो।
बालचित्रसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्था कलर फर पिसको संयोजनमा आयोजना गरिएको प्रदर्शनीमा नेपालका आदर्श विद्या सदन, रिजेन्ट, ललित सेकेण्डरी तथा योङ्ग पिकासो कम्युनिटी स्कुल अफ फाइन आर्ट गरी चार विद्यालयमा अध्ययनरत विद्यार्थीले कोरेका चित्रहरु समावेश गरिएका थिए।
हरेक वर्ष कलर फर पिसले विभिन्न देशमा बाल चित्रकारहरुले बनाएका चित्र प्रदर्शनी गर्दै आएको छ। आबुधाबीमा प्रदर्शन गरिएका चित्रहरु नेपालमा सन् २०२० को फेब्रुअरीमा हुने एक अन्तर्रा्ष्ट्रिय चित्र प्रदर्शनीमासमेत प्रदर्शन गरिने आयोजक संस्थाले जानकारी दिएको छ।