काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रकृतिको संरक्षणमा योगदान पु¥याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन्।
मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै उनले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौति थपिएको भन्दै ती समस्या समाधानमा योगदान पुर्याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गरेका हुन्।
अध्यक्ष दाहालले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार पनि विश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने आवश्यक्ता पनि औल्याए।
साथै विकास र समद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पारे। नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सो सम्मेलन ५ दिनसम्म चल्नेछ।
७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।