रुपन्देही– रुपन्देहीमा विद्युत् चुहावट घट्दै गएको देखिएको छ। नियन्त्रणका कार्यक्रम प्रभावकारी र विद्युत्मा प्राविधिक सुधार भएकोले चुहावट घट्दै गएको नेपाल विद्युत् प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिएका छन्।
बुटवल उप– महानगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका लगायतका क्षेत्रमा प्रत्यक्ष हुकिङ, मिटर र मागको आधारमा चुहावट हुने गरेको बताइएको छ।
‘विद्युत्को खपत गर्नेले जती स्वीकृति लिएको छ त्यति नै आधारमा बल्व जडान गर्नुपर्छ नभए त्यसलाई मागको आधारमा चुहावट मानिन्छ’, प्रमुख मिश्रले भने, ‘केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३७४ मा १२.३४ प्रतिशत विद्युत् चुहावट भएकोमा आव २०७४७५ मा ९.६१ प्रतिशतमा झरेको छ।
आव २०७५÷७६ मा ६.९१ प्रतिशतमा विद्युत् चुहावट सीमित हुन पुगेको छ। आर्थिक वर्ष २०७५७६ मा विद्युत् चुहावट गर्ने दुई जनालाई कारवाही गरिएको छ। ती दुईसँग रु ३३ हजार ७५३ रकम असूली गरिएको थियो। उक्त आर्थिक वर्षमा मिटरबाट विद्यु चुहावट गर्ने तीन जनालाई कारवाही गर्दा रु ९९ हजार ६९८ रकम असूली भएको छ।
यसैगरी मागका आधारमा चुवाहट अन्तर्गत तीन हजार ९९३ जनालाई कारवाही भएको छ। उनीहरुबाट रु दुई करोड १४ लाख ६८ हजार ५२४ रकम असुली भएको छ । विद्युत् चुहावटमा यस क्षेत्रबाट कूल तीन हजार ९९८ कारवाहीमा परेकोमा रु दुई करोड १६ लाख ९७६ रकम असूली भएको जनाइएको छ।
केन्द्रका प्रमुख मिश्रका अनुसार चुहावट नियन्त्रणका लागि मिटरमा ताल्चा हान्ने काम भएको र त्यस्तो एक हजार ५०० ग्राहकको रिसिलिङ गरिएको छ। ‘कतिपय अवस्थामा विद्युत् चुहावट थाहा नभएर पनि हुने गरेको छ’, उनले भने।
प्रमुख मिश्रले विद्युत् प्राधिकरणले ग्राहक वर्गिकरण सुधारलगायतका कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिँदै विद्युत्को वक्यौता प्रतिशत पनि घटदै गएको बताएका छन्। (रासस)