भरतपुर– देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो। बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ।
बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए। उनले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी तोरन टाँगिएको बताएका छन्। देवघाटमा आउने भक्तजनलाई स्नानका लागि सुरक्षित ठाउँ निर्माण गरिएको उनको भनाइ छ। देवघाटमा लाग्ने मेलामध्ये एकादशी मेला पनि प्रमुख हो।
यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ। विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो। मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ। पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ।
यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ। थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर)मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ। ब्रह्मथानमा भाकल गरिने भएकाले प्रत्येक वर्ष ठूलो सङ्ख्यामा स्थानीयवासीको उपस्थिति रहने स्थानीयवासी दीपेन्द्र चौधरीले बताए। उनले भने, ‘एक वर्ष ब्रह्मथानमा पूजा र नाचगान नगरेका कारण गाउँमा महामारी फैलियो, त्यसपछि प्रत्येक वर्ष नियमित रुपमा पूजाआजा र नाचगान हुने गरेको छ।’ आजको दिन थारू युवाहरु व्रतसमेत बस्ने गरेका छन्।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो। व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन्। हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ। असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ।
रासस