ललितपुर– जिल्लाको सबैभन्दा लामो नाट्य महोत्सव अन्तर्गत कात्तिक नाचको आज सातौँ दिन देवी नृत्य मञ्चन गरिने भएको छ। पाटनको मङ्गलबजारस्थित चार नारायण मन्दिर अगाडि कात्तिक डबलीमा साँझ ७ बजेदेखि महोत्सव अवधिभर उक्त नाच मञ्चन हुँदै आएको छ।
आज उषाहरण लीलामा आधारित नाच मञ्चन हुने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण प्रधानले बताउनुभयो। उनले भने, ‘सो नाचअन्तर्गतको देवी नृत्यमा भैरव, महालक्ष्मी र बालकुमारीको नृत्य देखाइनेछ।’ सो नाचको दोस्रो चरणमा कङ्काल, ख्याक, मन्दिरको सरसफाइमा बस्ने र माछा मार्ने मानिसमा आधारित नाटकसहितको नृत्य देखाइनेछ।
कात्तिक नाचका लागि आठ वर्षदेखि ८० वर्ष उमेर समूहका कलाकार, वाद्यवादक, गायक र सहयोगी गरी करीब १०० कलाकारको सहभागिता रहने भए पनि देवी नृत्यमा १२ कलाकारको विशेष भूमिका रहने समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए।
वि.सं. १६९७ मा पाटनका मल्लकालीन राजा सिद्धिनरसिंहले कात्तिक नाच शुरुआत गरेको इतिहासमा उल्लेख छ। सत्रौँ शताब्दीमा शुरु भएको विष्णु पुराणमा आधारित सो नाचमा विष्णुको अवतार, नृसिंह, राजा हिरण्यकश्यपु र विष्णुभक्त प्रल्हादका कथा छ। ऐतिहासिक रुपमा सांंस्कृतिक एवं तान्त्रिक मूल्य र मान्यता बोकेको सो नाचको महत्व अहिले पनि बढेको पाइन्छ।
उक्त नाचलाई महत्व दिन ललितपुर महानगरपालिका, पाटन दरबार सङ्ग्रहालय, ललितपुर उद्योग वाणिज्य सङ्घ, सम्झना ल्याब्रोटरीलगायत इच्छुक व्यक्तिले सक्दो रकम सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यसले अपुग हुने उक्त समितिले जनाएको छ। समितिका सदस्य भन्छन, ‘यो नाच सञ्चालन गर्न करीब रु १६ लाख लाग्ने भए पनि यो वर्ष करीब रु छ लाखमा सो कार्यक्रम सक्ने योजना बनाएका छाैँ।’
वि.सं. १६५७ मा पहिलोपटक पाँच दिनसम्म आयोजना गरिएको सो नाच वि.सं. १७२३ मा सात दिन थप गरी १२ दिनसम्म मनाइएको थियो भने विसं १७४० मा १५ दिन थप गरी २७ दिनसम्म मनाइएको थियो। वि.सं. २००७ देखि २०३७ सम्म ३० वर्ष (आर्थिक अभाव र राजनीतिक परिवर्तनका कारण) दुई दिन मात्र नाच आयोजना गरिएको थियो। वि.सं .२०३८ मा आठ दिनसम्म मात्र आयोजना गरिएको सो नाच विसं २०७१ देखि १२ दिनसम्म आयोजना हुँदै आएको छ। रासस