काठमाडौं– विगत एक वर्षदेखि चित्रकलाका माध्यमबाट ऐतिहासिक, पुरातात्विक र धार्मिक क्षेत्रको प्रचारप्रसारका साथै कला पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको उपत्यकाका कलाकारको समूहले यसपटक भने उपत्यकाबाहिर ‘स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्दैछन्।
फेसबुकबाट जोडिएर हरेक शनिबार उक्त कार्यशाला गर्दै आएका उनीहरुले यसपालि रसुवाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गर्न लागेका हुन्।
यसपालि ‘रसुवा कला यात्रा’ नाम दिएर चित्रकला कार्यशाला आयोजना गर्न लागिएको उक्त कार्यक्रमका संयोजक दिवेश प्रधानले जानकारी दिएका छन्। कलायात्राका सहभागी कलाकारको टोली उपत्यकाबाट आज त्यसतर्फ प्रस्थान गर्दैछन्।
आज रसुवा र नुवाकोटको सङ्गमस्थल ऐतिहासिक एवं धार्मिक तीर्थस्थल उत्तरगयाधाम, बेत्रावतीबजारको स्थलगत भ्रमण गर्ने र शुक्रबार बिहान बेत्रावतीको सांस्कृतिक पर्व ठूलो (हरिबोधिनी) एकादशी मेलामा स्थलगत चित्रकला कार्यशाला गर्ने कार्यक्रम रहेको प्रधानले जानकारी दिएका छन्।
बनाइएका चित्रहरुको शुक्रबार साँझ नै प्रदर्शनी गरिने जनाइएको छ। पौराणिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण बेत्रावतीमा पुसेऔँसी (पितृऔँसी) का साथै दशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुसेऔँसी, ठूलो एकादशी, बालबाचतुर्दशी, माघेसङ्क्रान्तिलगायतका पर्वमा ठूलो मेला लाग्ने गर्छ।
यस्तै कात्तिक २३ गते नियमित ‘शनिबारीय स्थलगत चित्रकला कार्यशाला’ आयोजना गरिने र आइतबार यहाँको कालिकास्थानसँगै नुवाकोटको त्रिशूली, देवीघाट तथा नुवाकोट दरबारको स्थलगत भ्रमणको कार्यक्रम रहेको जनाइएको छ।
कलायात्रामा स्थानीय सङ्घसंस्थाको सहकार्य रहने आयोजकले जानकारी दिएको छ। कलायात्रामा राकेशचन्द्र श्रेष्ठ, दीपेन्द्रमान बनेपाली, राधेश्याम कर्माचार्य, कान्छाकाजी भासीमा, विक्रम प्रजापति, प्रकाश मानन्धर, झलक केसी, सूर्यराम सुवाल, रुविन बाडेलगायत कलाकार सहभागी हुँदैछन्।
स्थानीयस्तरमा कलाकार शशीकुमार डङ्गोल र डिल्लीराम घिमिरेले संयोजक गरेको जनाइएको छ। यसअघि सोही कलाकारको टोलीले ‘भोटेकोशी सभ्यता’ अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा पुगेर स्थलगत चित्रकला कार्यशाला आयोजना गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरेका थिए।
कलाकारको टोलीले गएको एक वर्षदेखि काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक, पुरातात्विक तथा ऐतिहासिक क्षेत्रमा पुगेर चित्रकला कार्यशाला गर्दै आएको छ। (रासस)