बैतडी– बैतडीबाट यो वर्ष हिउँदे फलफूलका बिरुवा बिक्री गरिने भएको छ। सुख्खा फलफूल विकास केन्द्र सतबाँझको नर्सरी र किसानको निजी नर्सरीबाट एक करोड ६ लाखका बिरुवा बिक्री हुने केन्द्रका प्रमुख डम्मर भाटले जानकारी दिए। केन्द्रमा ३१ हजार ९०० बिक्रीयोग्य बिरुवा रहेका छन्।
किसानको निजी नर्सरीमा रु ९७ लाख ५६ हजार २५० बराबरका तीन लाख १९ हजार बिरुवा छन्। केन्द्रबाट मात्रै नौ लाख ६० हजारका बिरुवा बिक्री गर्ने तयारी भएको प्रमुख भाटको भनाइ छ। केन्द्रको नर्सरीमा नासपाती, स्याउ, ओखर, आरु, खुर्पानी, कटुसलगायतका सुख्खा फलफूलका बिरुवा राखिएका छन्।
यस्तै २२ वटा निजी नर्सरीमा पनि किसानले ओखर, स्याउ, नासपाती, खुर्पानी, आरुबखडालगायतका बिरुवा राखेका छन्। बैतडीमा उत्पादित फलफूलका बिरुवा सुदूरपश्चिमका साथै देशका अन्य भू–भागमा पनि बिक्री गर्ने गरिएको केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिएका छन्।
दशरथचन्द नगरपालिका–१ र सुर्नया गाउँपालिका–२ मा मात्रै फलफूलका २२ निजी नर्सरी छन्। नर्सरीबाट उत्पादित फलफूलका बिरुवाबाटै किसानले राम्ररी जीविकोपार्जन गरिरहेका प्राविधिक खड्काको भनाइ छ। फलफूलका नर्सरीबाट आफूले वार्षिक ६ लाख भन्दा बढी आम्दानी गर्ने गरेको किसान देवदत्त भट्टले बताएका छन्।
डिप बोरिङबाट पानी
केन्द्रको सतबाँझ बैतडीमा सिँचाइका लागि डिप बोरिङ प्रणालीबाट पानीको आपूर्ति गरिने भएको छ। केन्द्रको सतबाँझमा पानीको अभावले फलफूलका बोट र नर्सरीमा सिँचाइको अभाव भएकाले बोरिङ प्रणालीबाट सिँचाइको व्यवस्था गर्ने तयारी भएको केन्द्रका निमित्त प्रमुख डम्मर भाटले जानकारी दिएका छन्।
केन्द्र परिसरमा पानीको सम्भाव्यता अध्ययन भइसकेको र १२० मिटर गहिराई पानी निस्कन सक्ने अनुमान छ। उनले भने, ‘केन्द्रमा पानीको व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन भएको छ।
केन्द्रको परिसरमा पानीको व्यवस्थापनका लागि डिप बोरिङ गाड्न भूमिगत जलस्रोत परियोजना कैलालीले लागत अनुमान तयार गरिरहेको जनाएको छ। त्यसपछि डिप बोरिङ गाड्नका लागि बोलपत्र आह्वान गरिने भएको छ। सुख्खा फलफूल विकास केन्द्रमा पानी निस्केपछि सिँचाइका लागि सजिलो हुने भएको छ।
त्यँहा रहेका १४ वटा पोखरीमासमेत हाल पानी नहँदा सुक्दै गएका छन्। आकासे पानीको भरमा रहेको ती पोखरी सुक्दै गएका र तरकारी उत्पादनमा पनि कमी आएको छ। विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ।
सतबाँझमा पहिला देशभरीकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ। जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारीखेती गर्न थालेको हो। केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तराकारी खेती गरिँदै आएको छ। (रासस)