बिर्तामोड– प्रहरीले आज विहान सुरुङाबाट भारत तर्फ तस्करी हुन लागेको दुई ट्रक गोरु नियन्त्रणमा लिएको छ। गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको प्रहरीले जनाएको छ।
दुईवटा ट्रकमा राखेर ४९ थान गोरु भारत तस्करी हुन लागेको सुचना पाएपछि प्रहरीले कनकाई नगरपालिकाबाट पक्राउ गरेको थियो। बिहान ४ बजे दुबै ट्रक पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए।
प्रहरीले ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको ट्रक समेत पक्राउ गरेको छ। सो नाकाको प्रयोग गरेर लामो समयदेखि गोरु तस्करी हुँदै आएको सुचना पाएको प्रहरीले त्यसक्षेत्रमा निगरानी बढाएको थियो। प्रहरीलाई छलेर सुरुङा हुँदै झापा गाउँपालिकाबाट पशुचौपाय तस्करी हुँदै आएको थियो। स्थानीय युवाले तस्करी हुन लागेको थाहा पाएपछि जिल्ला प्रहरीलाई जानकारी गराएका थिए। स्थानीय युवाको सुचनाका आधारमा गोरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नवलपरासीबाट प्रमोद यादवले पठाएको चौपाय प्रहरीका अनुसार कनकाई नगरपालिका–३ का रमेश खरेलले आयात गरेको पाइएको थापाले बताए। खरेलकै नेतृत्वमा लामो समयदेखि तस्करी हुँदै आएको उनको भनाई छ।
झापा गाउँपालिकास्थित कामाटोलीमा चौपाय राखेर भारततर्फ निकासी हुँदै आएको छ। झापा गाउँपालिकाले पशु बजारका लागि ठेक्का दिएपछि तस्करीका लागि सोहि बजारलाई प्रयोग गर्दै आएको बताइएको छ। दैनिक ४र५ ट्रक पशुचौपाय तस्करीको लागि झापा गाउँपालिकाको बाटो प्रयोग हुन थालेको छ।रासस