संखुवासभा– मोलुङ गाउँपालिका ३ को थुम्किमा बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको छर्राले लागेर १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो। बन्दुक छर्राले लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाण्डौ लैजाने क्रममा सिन्धुलीमा मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बाँदर धपाउन गएकामध्ये २१ वर्षीय चित्रबहादुर सुनुवारलाई प्रहरीले नियन्त्रण लिएको बताए। बाँदर धपाउन गएका २२ वर्षीय सबिन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ फरार छन्।
प्रहरीले दुई थान भरुवा बन्दुकसमेत नियन्त्रणमा लिएको छ। घटना गत आइतबारको भएपनि प्रहरीले भने अबेरमात्रै जानकारी पाएको थियो। बाँदर धपाउन लालमानसँगै एक समूह भरुवा बन्दुक लिएर गएको थिए। यसैबीच बन्दुक पड्किएर तामाङको देब्रे तिघ्रामा लागेपछि उनी घाइते भएका थिए।
घटनापछि प्रहरीलाई खबर नै नगरी शव घरतर्फ ल्याउँदै गर्दा प्रहरीले सोमबार दिउँसो सिद्धिचरण नगरपालिका ११ बाट नियन्त्रणमा लिइ पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको छ।