काठमाडौं– काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानमा केही दिनदेखि मौसम धुम्मिएको छ। धान भित्र्याउने चटारोमा रहेका किसानहरू मौसम नखुलेकाले पानी पर्ने हो कि भनेर चिन्तामा छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसम नखुले पनि वर्षा नै हुने सम्भावना भने तत्काललाई छैन। तर, अन्तर्रा्ष्ट्रिय उडान वायुमण्डलको प्रदूषणले प्रभावित हुनसक्ने खतरा बढेको छ।
वर्षा हुने नयाँ प्रणाली विकसित नभएकाले डराउनु पर्ने अवस्था नरहेको महाशाखाका मौसमविद वरूण पौडेलको भनाई छ। ‘अहिलेको प्रणाली अनुसार वर्षा हुँदैन, त्यसका लागि नयाँ प्रणाली विकास हुनुपर्छ’, उनले भने, ‘तर, तत्काल वर्षा हुने प्रणाली विकास हुने सम्भावना छैन।’
भारतको प्रदूषणको असर नेपालसम्म
पछिल्लो समय देशका अधिकांश स्थानमा तुवालो लागेको छ। काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा प्रदूषण बढ्दा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाले भनेका छन्। ‘हावाहुरी चल्ने मौसममा वायुमण्डलमा भएको प्रदूषण उडाएर लैजाने र तुवालो नदेखीने’, मौसमविद् पौडेलले भने, ‘तर, अहिले हावाहुरीको मौसम नभएकाले प्रदूषण बढेको छ।
त्यही प्रदूषणका कारण वायुमण्डलको पारदर्शिता घटेको छ।’ केही दिनदेखि प्रदूषण बढेकाले छिमेकी मुलुक भारतका लागि टाउको दुखाइको विषय बनेको छ। दिल्ली सरकारले वायुमण्डलमा प्रदूषित भएपछि सार्वजनिक स्वास्थ्य क्षेत्रमा संकटकाल नै घोषणा गरेको छ।
विद्यालय ६ नोभेम्बरसम्मका लागि बन्द गरीएको छ भने निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ। भारतमा बढेको प्रदूषणको कारण नेपालसम्मै असर आइपुग्ने आकलन मौसम पूर्वानुमान महाशाखाको भनाई छ्। महाशाखाका अनुसार, भारतको प्रदूषणको प्रभावले धूलोको कण केही दिन बढ्ने र तुवालो लाग्ने देखिएको छ।
अन्तर्रा्ष्ट्रिय उडान प्रभावित हुने खतरा
अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय उडानमा हावाको पारदर्शिता (भिजिबिलिटी) को महत्त्वपूर्ण भूमिका रहन्छ। वायुमण्डलको पारदर्शिता ३ हजार मिटरभन्दा कम भएमा अन्तर्रा्ष्ट्रिय उडान गर्न नमिल्ने।मौसमविदका भनाई छ्। वायुमण्डलको प्रदूषण बढ्दै जाँदा अन्तर्रा्ष्ट्रिय उडान प्रभावित हुने खतरा चिन्ता व्यक्त हुन थालेका छन्। यद्यपि, अहिले नै उडान प्रभावित हुने खतरा भने छैन।
नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरमा झरेको मौसमविद् पौडेले बताउछन्। ‘अन्तर्रा्ष्ट्रिय उडानमा वायुको पारदर्शिता ३ हजार मिटरसम्म हुनुपर्छ।त्योभन्दा कम भएमा उडान प्रभावित हुन्छ। नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरबाट तल नझरेकाले तत्काल उडान नै प्रभावित हुने अवस्था भने छैन।’
अरब सागरको चक्रवात, नेपाल आइपुग्ला ?
नेपाल र भारतका वायुमण्डल प्रदूषित बनिरहेका बेला अरब सागरमा भने चक्रवात देखापरेको छ। मौसमविदहरूका भनाई अनुसार, ‘माहा’ नाम दिइएको यो चक्रवात अहिले अरब सागरको दक्षिणपूर्वी भागबाट विकसित भई उत्तर–पश्चिम दिशातर्फ लागेको छ।
याे चक्रवातले उत्तर–पश्चिम दिशा समाते पनि तत्काल यसको प्रभाव नेपालमा भने नपर्ने मौसमविद् पौडेल बताउँछन्।