म्याग्दी–म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडास्थित करबाकेलीमा सङ्ग्रहालयकाे निर्माण कार्य शुरु भएको छ। परम्परागत सामग्रीको संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका लागि करबाकेली संरक्षण समितिले सङ्ग्रहालय निर्माण शुरु गरेको हो।
म्याग्दी जिल्लामा बसोबास गर्ने सबै समुदायको पहिचान झल्कने दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर सङ्ग्रहालय बनाउन लागिएको निर्माण समितिका अध्यक्ष चामबहादुर पुनले बताएका छन्।
‘चन्दा सहयोग जुटाएर सङ्ग्रहालय बनाउन लागिएको होे’, अध्यक्ष पुनले भने, ‘परम्परागत सीप र सामानको प्रयोगबाट मौलिकता झल्कने किसिमको भवन बनाउने काम करीब आधा सकिएको छ, आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ।’ भवनमा रु ४५ लाख र सामग्री खरीद गर्न रु १५ लाख लागत अनुमान गरिएको छ।
उनका अनुसार हालसम्म करीब रु २२ लाख सहयोग जुटाएर भवन निर्माणमा खर्च भइसकेको छ। हाल प्रचलनमा रहेका र प्रयोग हुन छाडेका सबै किसिमका सामान, पोशाक, भाँडाकुँडा र दैनिक जीवनमा प्रयोग हुने सामग्री राखिने भएको छ।
अन्नपूर्ण गाउँपालिकाले सङ्ग्रहालयलाई यस वर्ष रु पाँच लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताएका छन्। पुन समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पुजास्थल, पदमार्ग, सडक, सामुदायिक लज, सभाहल र खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ।
स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ। थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन्। मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ।
करबाकेलीसम्म पुग्ने करीब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरेका छन्। करबाकेली परिसरमा करीब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ। घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ।
करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ। नौ कोठा रहेको उक्त होटलमा एक दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सञ्चालक रवि गर्बुजाले बताएका छन्।
समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छे्, अन्नपूर्ण, टुकुचेलगायत १० हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ।
करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ। जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रस्वास्वादन गर्न पाइने पदमार्गका संयोजक यामबहादुर पुनले बताएका छन्।
पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ। बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ। (रासस)