काठमाडौ– आइतबार देशभर मौसम बदली हुने छ। उपत्यका सहित पूर्वी र पश्चिमी क्षेत्रमा मौसममा बदली आउने मौसमविद्हरुले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मौसम आंशिक बदली भएको तथा पश्चिमका सबै स्थान र पूर्वको तराई क्षेत्रमा मौसम सामान्य बदली भएको बताए।
यसैगरी दिउँसो पनि देशका पश्चिमी क्षेत्रलगायत अन्य स्थानका पनि पहाडी भेगमा मौसम सामान्य बदली रहने र पश्चिम पहाडका केही स्थानमा छिटफुट वर्षाको समेत सम्भावना रहेको छ।
बेलुकासम्म पश्चिम पहाडका केही स्थानमा हल्का वर्षा तथा पश्चिमकै उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको पौडेलले बताए। यस्तै आइतबार (आज) राति पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। पश्चिमी वायुको कारण देशभर मौसममा प्रभाव देखिएको हो।रासस