गोरखा– भीमसेन थापा गाउँपालिका–६ अश्राङकी सीता लम्साललाई बचाउन जापानमा रहेका यहाँका युवाले रु एक लाख ५० हजार सहयोग प्रदान गरेका छन्।
दुवै मिर्गौला फेल भएकी लम्सालको उपचारका लागि आर्थिक अभाव भएपछि जापानमा रहेका गोर्खाली युवाहरुले आर्थिक सङ्कलन गरी उक्त रकम पीडित परिवारलाई प्रदान गरेको हो।
गोरखा समाज जापानको अगुवाइमा सङ्कलन भएको रु डेढ लाख गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेमार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको नेपाल कतार सेवा समाज नेपालका अध्यक्षा कैलाशबाबु श्रेष्ठले जानकारी दिएका छन्।
अध्यक्ष पाण्डेले लम्साललाई गाउँपालिकाका तर्फबाट पनि सहयोग गर्ने आश्वासन दिएको थियो। लम्सालको मिर्गाैला डायलासिस गर्न आर्थिक क्षमता नभएपछि सहयोगको याचना गर्नु परेको छोरी अम्बिकाले बताएका छन्।
गत जेठ महीनादेखि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि अस्पताल भर्ना भएकी लम्सालको उपचारमा आर्थिक अभाव हुँदै आएको छ।
‘भएको सबै रकम सकिसक्यो, अहिलेसम्ममा रु १० लाखभन्दा बढी खर्च हुँदा पनि आमालाई निको भएको छैन, थप उपचारका लागि पैसा समस्या छ’, अम्बिकाले भने।
जेठमा दुवै मिर्गाैला फेल भएपछि उनको शुरुमा काठमाडाँैस्थित मनमोहन अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि भारत लगिएको थियो।
भारतमा दुई महीना राख्दा भएको रकम सकिएपछि पैसाको अभावमा नेपाल फर्काइएको छोरी अम्बिकाले जानकारी दिएका छन्। लम्सालको शारीरिक अवस्था नाजुक भएपछि हाल पोखरास्थित फिस्टेल अस्पताल राखिएको छ।
गोरखाका विभिन्न पालिकामा घर भई हाल जापानमा रहेका युवाहरुको सक्रियतामा केही वर्षअघि स्थापना भएको समाजले आर्थिक कारणले उपचारमा समस्या रहेका विपन्नहरुलाई विभिन्न अभियान सञ्चालन गरेर सहयोग गर्दै आएको छ। (रासस)