नेपालगञ्ज– वर्षभरिको आयस्रोतका रुपमा रहेको धानबालीलाई फौजी किराले सखाप पारेपछि बाँके र बर्दियाका हजारौँ किसान परिवारको विचल्ची भएको छ।
‘हाम्रो त वर्षभरिको कमाई नै धान हो, त्यो पनि सखाप भएपछि बिहान बेलुका हातमुख जोर्न धौधौ भएको छ, बाँके डुडुवा गाउँपालिका–६ का किसान रेखाउल्ला खाँले पीडा पोखे।
अन्नको भण्डार भनेर चिनिने बाँके बर्दियाको धानबालीलाई फौजी किराले नोक्सान पु¥याएपछि पीडित किसानले तिनै तहको सरकारसँग सहयोगको गुहार लगाएका छन्।
बाँके र बर्दियाका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारसँग क्षतिपूर्तिको माग किसानले राखेका छन्।
केहि दिनअघि नेपालगञ्ज आएका प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेल र सङ्घीय सरकारका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसमक्ष पीडित किसानले ज्ञापनपत्र बुझाएर सहयोगको याचना गरेका थिए।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले, फौजी किराले बाँकेमा १७ हजार र बर्दिया दुई हजार हेक्टर धानबालीलाई क्षति पु¥याएको बताएका छन्। उनका अनुसार पाँच हजार घरधुरीको विचल्ली भएको छ। (रासस)