पाल्पा– माथागढी गाउँपालिका–३ सराइमा झिनीया रोटी बनाउने भ्याइनभ्याइ छ। तिहारमा खाइने रोटीको परिकारमध्ये झिनीया रोटी पनि एक हो । चामलको पिठो कुटेर उत्पादित झिनीया रोटी तिहारका बेला बढी खपत हुँदै आएको छ।
तिहारका समयमा पाल्पाली झिनीया रोटीको उच्च कारोवार हुने गर्छ। कात्तिक महीनामा झिनीयाको रोटीको कारोवार बढी हुँदा स्थानीय महिला झिनीया रोटी बनाउने गृहकार्यमा जुटेका छन्। घरमा नै बसेर झिनीया रोटी बनाउन सकिने हुँदा यहाँका महिला झिनीया रोटी बनाउन आकर्षित छन्।
कम लगानी र छिटो उत्पादन र बजार राम्रो रहेको व्यवसायीको भनाइ छ। माथागढी गाउँपालिका सराइका स्थानीय बासिन्दा नहलसिं श्रेष्ठ यसपालि रु पाँच लाखको झिनीया रोटीको कारोवार गर्ने योजनामा छन्। गत वर्षको दशैँ तिहारमा पनि झण्डै रु पाँच लाखको झिनीया रोटीको कारोवार गरेको श्रेष्ठको भनाइ छ।
करीब चार वर्षअघि झिनीया बनाउने व्यवसाय अँगाल्नु भएका श्रेष्ठले तिहारको शुरुआतसँगै एकडेढ लाख आम्दानी भइसकेको बताएका छन्। भदौ, असोज महीनामा झिनीया बनाउन उपयुक्त समय रहेको श्रेष्ठको भनाइ छ।
‘जति उत्पादन गरे पनि बजारमा माग बढी छ, मागअनुसारको झिनीया उपलब्ध गराउन सकिएको छैन’, श्रेष्ठले भने। सराइमा उत्पादित झिनीया रोटी रुपन्देही जिल्लाको बुटबलमा थोकमा बिक्री हुन्छ। स्थानीय झडेवा, सराइ, खहरेलगायतका क्षेत्रमा समेत सहजरूपमा खपत हुने व्यवसायीको भनाइ छ।
पाल्पा जिल्ला सदरमुकाम तानसेनस्थित टक्सारटोलमा ठूलो मात्रामा झिनीया रोटी उत्पादन गरिँदै आएको छ। तानसेनकी विमला प्रधानले वार्षिक रु पाँचदेखि सात लाखसम्म झिनीयाबाट आम्दानी हुने बताएका छन्। अन्य महीनाको तुलनामा कात्तिकमा झिनीया रोटीको कारोवार उच्च हुने गर्छ।
‘तिहारका भाइटीकामा खुवाइ रोटीका रुपमा परिचित रहे पनि खाजाका रुपमा मकै, भटमास, झिनीया रोटी खाने चलन पनि छ, त्यसैले पाल्पा आएका आन्तरिक पर्यटकको रोजाइमा झिनीया रोटी आकर्षण हुन्छ। सस्तो र राम्रो हुने भएपछि सबैको नजर झिनीया रोटीमा पार्ने हुन्छ’, व्यवसायी प्रधानले भने।
पाल्पाको तानसेनकाके टक्सार, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका, माथागढी गाउँपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा व्यावसायिकरूपमा झिनीया उत्पादन हुँदै आएको छ। पाल्पाका झण्डै २०० भन्दा बढी घरपरिवारले झिनीया उत्पादनमा संलग्न रहेको पाइन्छ।
यसबाट जीविकोपार्जन गर्न सहज हुने भएपछि महिलाहरु यस व्यवसायप्रति आकर्षित छन्। पाल्पाबाट उत्पादित झिनीया गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँ लगायतका जिल्लामा ठूलो मात्रमा खपत हुँदै आएको व्यवसायी बताउँछन्।
झिनीया बनाउनका लागि पहिला चामललाई मसिनो गरी पिस्नुपर्छ । पिसेको चामलाई पानीमा पकाउनुपर्छ। पिसेको चामललाई राम्रोसँग पाकेपछि मेसिनमा हालेर झिनीया रोटी बनाउन सकिने व्यवसायीको भनाइ छ। मेसिनबाट बनेको झिनीयालाई आवश्यक मात्रामा घाममा सुकाउनुपर्छ ।
यसरी तयार भएको झिनीया रोटीलाई तातो तेलमा फुराएपछि खान योग्य हुने गर्दछ। पाल्पा तानसेनको टक्सारमा उत्पादित झिनीया रोटी चामलको पिठोलाई पकाएर मसिना प्वाल भएको साँचोबाट पिठोको रेसा निकालिन्छ। त्यसलाई चाउचाउजस्तै गोलो आकारमा निर्माण गरी दुईतीन दिनसम्म घाममा सुकेपछि झिनीया बजारमा बेच्न योग्य हुने व्यवसायीको दाबी छ।
महिलाहरुले रु २५० मा एक दर्जन साना आकारका झिनीया बेच्दै आएका छन्। एक दर्जन ठूला आकारका झिनीयालाई तीनचार सयमा बिक्री हुँदै आएको झिनीया व्यवसायी कमलादेवी श्रेष्ठले बताउछन्। झिनीया व्यवसायीले तिहारका बेला पाँचसात लाख आम्दानी गर्दै आएका छन्।
तिहारका बेला अन्य महीनामा भन्दा बढी कारोवार हुँदा आम्दानी पनि बढी नै हुँदै आएको उनीहरुले बताउँछन्। तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि रोटीका रूपमा झिनीया तेलमा फुराएर सेलरोटी, फिनी रोटीसँगै खुवाउने चलन रहेकाले झिनीयाको कारोवार उच्च बन्दै गएको हो। (रासस)