काठमाडौं– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा खुवाएर मनाइँदैछ।
कार्तिक कृष्ण त्रयोदशीको दिन शुरु हुने यमपञ्चक तिथिको घटबढका कारण यस वर्ष शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिको अनुसार शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक शुरु गर्ने निर्णय गरिएकोे छ। त्यस्तै लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइन्छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मीले घरमा बास गर्ने धार्मिक मान्यता रहेको छ।
अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको जानकारी दिए। समितिका यमराजले लोकको खबर कागकामार्फत थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खानेकुरा खुवाएर खुसी पार्ने चलन रहेको छ।
काग घरमा आएर कराउँदा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनपनि सधियाँै देखि चलिआएको छ। काग कराएको सुनेमा उसले केही सन्देश लिएर आएको विश्वास गरिन्छ। ‘काकेन दधि भक्षितम’ अर्थात् कागलाई दही भात मीठो लाग्छ र उसलाई आजको दिनमा दहिभात खुवाएमा खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वासले आजको दिन कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ।
यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम शुक्रबार साँझदेखि नै शुरु भएको छ। वैदिक सनातन धार्मिक विधिअनुसार यम दीप दान दक्षिण फर्काएर गर्नुपर्छ।