काठमाडौं– नेपाल संवत् ११४० न्हुदँ राष्ट्रिय समारोह समितिले यही कात्तिक १३ गते नेवार समुदायलाई भाइटीका मनाउन सरकारले सार्वजनिक बिदा दिएकोमा त्यसको स्वागत गरेको छ।
समितिका अध्यक्ष रमेश महर्जनले आज जारी गर्नुभएको विज्ञप्तिमा तिथि टुट हुने र दोहरिने समस्याले उक्त समुदायले १३ गते माग गरेकामा सरकारले त्यसलाई सकारात्मकरूपमा लिई सार्वजनिक बिदा दिन गरेको निर्णयले सांस्कृतिक परम्परा र विधि व्यवहारको महत्व सबैले आत्मसात गर्नुपर्ने सन्देश दिएको जनाइएको छ।
तिथिअनुसार चाडपर्व जात्रा मनाउने सिलसिलामा व्यवहारिकता र सांस्कृतिक पक्षको महत्व रहेको उल्लेख गरिएको विज्ञप्तिमा यस्ता पर्वले सामाजिक सांस्कृतिक एकता कायम गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।
आगामी दिनमा पञ्चाङ्ग निणार्यक समितिले तिथि–मिति घटबढ हुँदा सोहीअनुसार छलफल गरी समस्याको अग्रिम समाधानका लागि पहल गर्न आग्रह गरिएको छ। सरकारले राष्ट्रिय संवत् घोषणा गरिसकेको नेपाल संवत् (नयाँ वर्ष) कात्तिक १२ गते आ–आफ्नो टोल शहरमा हर्षोल्लासका साथ विविध कार्यक्रम गरी मनाउन सबैमा अनुरोध गरिएको विज्ञप्तिमा काठमाडौँको वसन्तपुरमा उक्त दिन बिहान ७ बजे भेला भई सांस्कृतिक ¥यालीमा सहभागी हुन आग्रह गरिएको छ।
रासस