काठमाडौं– याैन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बिहीबारदेखि ७ दिनको म्याद थप गरि थुनामा राखेर आवश्यक अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।
दोस्रोपटकको म्याद सकिएलगतै महरालाई आज अदालतमा उपस्थित गराइएको थियो। सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको छ। महराको अनुसन्धानको लागि आज अदालतले तेस्रोपटक म्याद थप गरेको हो।
महरामाथि संघीय संसद सचिवालयमा कार्यरत रोसनीले करणीको आरोप लगाएकी थिइन्। असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै उनले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन्।
प्रहरीले घटना घटेको दिनदेखि नै अनुसन्धान थालेको बताए पनि असोज १७ गते महिलाले उजुरी गरेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो। जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो।