काठमाडौं– सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने जनाएका छन्।
विप्लवले आफ्ना कार्यकर्तालाई रिहा गरेर प्रतिबन्ध हटाए वार्ता गर्ने सर्त राखेका थिए। त्यसै प्रसंगमा बाँस्कोटाले यस्ता नचाहीँदो कुराका पछि सरकार नलाग्ने बताएका छन्। हिंसा मच्चाउने, विकास र प्रगतिको बाटो अवरूद्ध गर्न चन्दा संकलन अभियान चलाउन खोज्नेजस्ता कामहरू राष्ट्रघाती कदम भएको उनको भनाई छ।
बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले भने, ‘छदमभेषी कुराका पछि सरकार लाग्दैन। जाँतो घुमेजस्तो। संविधान मानेर हिंसा छाडे खेल खत्तम, केको प्रतिबन्ध र कार्यकर्ता रिहाइका कुरा।’
उनको अनुसार संविधानमा उल्लेखित राजनीतिक अधिकारअनुसार विप्लव हिंसा छाडेर आउनुपनर्छ र यदि हिंसा छाडियो भने प्रतिबन्ध हटाइराख्नु पर्दैन्। उनले भने, ‘हामीले धेरै हिंसा देखिसक्यौं। हिंसा छाडेर शान्ति रोजौं।’