काठमाडौं– संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले चिनियाँ अधिकारीहरुलाई सहभागी गराएर नेपालमा बजार अनुगमनको प्रयत्न गर्ने भएको छ।
समितिका सभापति विमल श्रीवास्तवले बिहीबारको बैठकका संयुक्त रुपमा बजार अनुगमन गर्न प्रयत्न गर्ने बताएका हुन्। कहाँ र कहिले बजार अनुगमन गर्ने भनेर उनले खुलाएका छैन्न। उनले भने, ‘समय मिलाएर चिनियाँ प्रतिनिधिमण्डलसँग संयुक्तरुपमा बजार अनुगमनमा जान प्रयत्न गर्नेछौं।’
चीनको राज्य प्रशासन तथा बजार अनुगमन उपमन्त्री ताङजुन नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी थियो। उनीहरुले बजार अनुगमनबारे आ–आफ्ना अनुभव साटेका थिए। नेपाली र चिनियाँ प्रतिनिधिहरुले बजार अनुगमन, उपभोक्ता अधिकार, खाद्य अधिकारलगायतका बारेमा बताएका थिए।
बैठको अन्त्यमा चिनियाँ उपमन्त्री ताङले आफूहरुलाई महत्व दिएर संसदीय समितिको बैठकमा बोलाएकोमा धन्यवाद व्यक्त गरे र समिति सदस्यहरुलाई चीन भ्रमणको निम्तो पनि दिए।