काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गरेका छन्। बिहीबार उनी असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीसँगै उनकि पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत बाकु प्रस्थान गरेका जानकारी दिएको छ। प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो।
प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने भएका छन्।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सम्मेलनपूर्वका विभिन्न सेसनहरूमा सहभागी हुन जापानबाट बाकु पुगिसकेका छन्। कार्यतालिकाअनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने छन्।