इलाम– जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ।
बिहीबार आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
मोर्चाका केन्द्रीय सचिव धनबहादुर विश्वकर्मा (धमला), पार्टीको महिला सङ्घ केन्द्रीय अध्यक्ष कविरमाया सावा, इलाम जिल्ला अध्यक्ष विजय आङदम्बे, सचिव मनकुमार माखिम, कोषाध्यक्ष मैतराज लिम्बू, जिल्ला सदस्य कमल लकान्द्री, वृजराज चोङवाङ, अजाहाङ लिम्बु र हर्कप्रसाद नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी हीराबहादुर पाण्डेका अनुसार शान्ति सुरक्षामा आँच पुर्याउने काम गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएको हो। मोर्चाका कार्यकर्ताले जिल्लाका सरकारी कार्यालयलगायतका स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राखेका थिए।