काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ।
पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिबन्ध हटाए महासचिव ‘विप्लव’ले विज्ञप्तिमा वार्ताको टेबुलमा बसेर वार्ता गर्न सकारात्मक रहेको जनाएका छन्। हालै बसेको विप्लव समूहको आठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाएको हो।
विज्ञप्तीमा भनिएको छ, ‘सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ।’
सरकारले पार्टीलाई आर्थिक नाकाबन्दी गरेको भन्दै बैठकले चार महिने चन्दा अभियान चलाउने पनि निर्णय गरेको छ। बैठकले सातौं बुँदामा निर्णय गरेको छ ‘केपी सरकारले हाम्रो पार्टीलाई आर्थिक ‘नाकाबन्दी र दमन’ गर्ने नीति लिएको सन्दर्भमा पार्टीले व्यापक भन्डाफोर गर्दै मैत्रीपूर्ण तरिकाले आम नागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चार महिने आर्थिक अभियान सन्चालन गर्ने निर्णय लिइयो।’
संगठनात्मक रुपले विप्लव समूह तत्कालिन माओवादी पार्टीको खरानीबाट भएको निष्कर्ष निकाल्दै यसको गठन, पुर्नगठन, शुद्धीकरण र सुदृढीकरण निरन्तर आवश्यक रहेको निचोड निकालेको छ। यसका लागि सबै क्षेत्रहरु तल्ला कमिटी, जनसेना, जवस, मोर्चा, विभागहरुमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ।