काठमाडौं — भारतको राजधानी नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिलालाई पक्राउ गरी दिल्ली ल्याइएको छ।
पक्राउ पर्नेमा लक्ष्मी, शोभा र रुपा रहेको जनाइए पनि उनीहरुको थर र ठेगाना भने खुलाइएको छैन। भारतीय अखबार ‘अमर उजाला’ले जनाएअनुसार तीनैजना नेपाली महिला अवैध रुपमा दिल्लीबाट कुवेत पुगेका थिए।
उनीहरु नेपाल एयरलाइन्सको विमानबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेको र विमानस्थलबाट सोझै कुवेत जाने अर्को विमानमा चढेको बताइएको छ। अध्यागमनको आवश्यक प्रक्रिया पूरा नगरी उनीहरुले फर्जी कागजात प्रयोग गरेको जनाइएको छ। उनीहरुसँग खाडी देश जानका लागि आधिकारिक कागजपत्र नरहेको समाचारमा उल्लेख छ।
उनीहरु कुवेत पुगेपछि फन्दामा परेका थिए। कीर्ते प्रक्रियाबाट कुवेत पुगेका उनीहरुलाई आवश्यक कारवाहीका लागि दिल्ली फर्काइएको छ। उनीहरुलाई अवैध रुपमा कुवेत पुर्याउन नेपाल एयरलाइन्सका कर्मचारीको समेत भूमिका हुन सक्ने आशंकामा छानविन भइरहेको भारतीय अखबार ‘अमर उजाला’ दैनिकले जनाएको छ।
ती महिला हाल दिल्ली प्रहरीको नियन्त्रणमा रहेको र उनीहरुसँग सोधपुछ भइरहेको जनाइएको छ।