एजेन्सी– इङ्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ। आइतबार राती भएको खेलमा लिभरपुल र म्यान्चेस्टर युनाईटेडले बराबरी खेलेका छन्। प्रतिस्पर्धात्मक खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
युनाईटेडको घरेलु मैदान भएको खेलमा लिभरपुलले अन्तिम समयमा पुनरागमन गर्दै बराबरीकाे नतिजा निकालेको हो। युनाईटेडले भने शुरूवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयाे। खेलको ३६ औं मिनेटमा युनाईटेडले खेलमा अग्रता बनाएको थियो। उसका लागि ड्यानिएल जेम्सको क्रसमा मार्कस रासफर्डले गोल गरेका थिए।
हारको नजिक पुगिसकेको लिभरपुलको लागि खेल सकिन ५ मिनेट बाँकी रहँदा एडम लाल्लानाले गोल गरेका थिए। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका लाल्लानाले एन्डी रोबर्टसनको क्रसलाई गोलमा परिणत गरेका थिए।
बराबरीसँगै युनाईटेडको जारी सिजनको शतप्रतिशत विजयी यात्रा समाप्त भएको छ। ९ खेलबाट २५ अंक जोडेको लिभरपुल शीर्षस्थानमा कायमै छ। म्यानचेस्टर सिटी १९ अंकको साथ दोस्रो स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड १० अंकसहित १३ औं स्थानमा छ।