काठमाडौं– वुमन्स लिग टी–२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज विजयी भएको छ। शनिबार भएको खेलमा चितवनले विराटनगर टाईटन्सलाई ५३ रनले हराएको हो।
चितवनले दिएको १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा अलआउट हुँदै मात्र ६९ रन बनायो। विराटनगरको लागि ज्योती पाण्डे र डोली भट्टले समान २१ रनको योगदान दिए। ज्यातीले १९ बलमा ४ चौकाको मद्धतमा २१ रन बनाएकी हुन् भने डोलीले २१ बलमा १ चौका र २ छक्काको मद्धतमा २१ रन बनाएकी हुन्। विराटनगरका अन्य ब्याट्सम्यानले दोहारो अंकमा रन जोड्न सकेनन्।
चितवनको लागि कविता गौतमले उत्कुष्ट बलिङ गरिन्। उनले ३ ओभरमा मात्र ५ रन दिँदै ३ विकेट लिइन्। त्यस्तै अर्की बलर सुमन खतिवडाले २ विकेट लिइन्।
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो। चितवनको पारीमा कागल श्रेष्ठले सर्वाधिक ३६ रन बनाइन्। उनले ४६ बलमा २ चौका प्रहार गरेकी थिइन्। त्यस्तै कञ्चन श्रेष्ठले नटआउट ३४ रन बनाईन् उनले ४१ बलमा ६ चौका हानेकी थिइन्।
विराटनगरको बलिङमा सब्नम राईले २ विकेट लिइन्। उनले ४ ओभरमा १७ रन दिएकी थिइन्। त्यस्तै आरती बिडारी, सोनु खड्का र सर्मिला मगरको नाममा समान १ विकेट रह्यो।