काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजानमा बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनकि धर्मपत्नी पनि उनकासाथ बाकु जाने भएकि छन्।
आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कार्तिक ९ र १० गते हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु जान लागेको जनाएको छ।
परराष्ट्रमन्त्रालयको अनुसार, प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन्।
समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चित गर्नका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ। परराष्ट्र मन्त्रालयले विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नेछन्।
विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन्। नेपाल लगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन्।प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कनेछ।