काठमाण्डौ– जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह रिहा भएका छन्।
जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले साहलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो। लगतै उनी रिहा भएका छन्।
सोमबार जनकपुरबाट काठमाडौंको बुद्ध एयरको उडान ढिलो भएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद साहले काउन्टरमा लात्ती हानेका थिए। उनीविरुद्ध उजुरी परेपछि मंगलबार ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर जनकपुर लगिएको थियो।
सरकारी वकिल कार्यालयले साहविरुद्ध गैरसैनिक हवाई उडान ऐन २०१५ को दफा ९ (क) को आधारमा अपराध गरेको कारणले उनिमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको मांगदाबीसहित जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
तर अदालतले विमानस्थलमा वादविवाद भएको तर सरकारी वकिलको कार्यालयको मागदावी नपुगेको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।