काठमाडाैँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन टोली एकै दिन चीन भ्रमणमा निस्किएका छन्।
संयोग कस्तो भने चिनिया राष्ट्रपति सी जिनपिङले नेपालको दुई दिने राजकीय भ्रमण सकेर फर्केको भोलिपल्टै नेकपाका नेताहरु चीन भ्रमणमा निस्किएका हुन्।
राष्ट्रपति सी आइतबार स्वदेश फर्केका थिए। त्यसको भोलिपल्ट अर्थात सोमबार नेकपाका नेताहरुको तीन टोली चीनको विभिन्न प्रान्तको भ्रमणमा निस्किएका हुन्। चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपाका स्थायी कमिटी सदस्य एवं स्कुल विभाग उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसाल चीनको गोन्जाओ र कुम्निङमा हुने कार्यक्रमका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।
त्यहाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक स्ट्रटेजीबीचको भिन्नता र समानताबारे अन्र्तक्रिया कार्यक्रम हुँदैछ। सो कार्यक्रममा सात देशबाट सरकारको नेतृत्व गरेका पार्टीका नेताहरु सहभागी हुँदैछन्। यस्तै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको अन्तर्राष्ट्रिय विभागबीच संयुक्त कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ। उनीहरुसँग कार्यालय सचिव ईश्वरी भट्टराई पनि छन्।
यस्तै सोमबार नै प्रदेश पाँचका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल चीनको छेन्दु प्रस्थान गरेका छन्। उनी बीआरआईसम्बन्धी एक कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन्। उनी केही महिनाअघि मात्रै चीन भ्रमण गरेर फर्केका थिए। सोमबार मात्रै नेकपाका केन्द्रीय सदस्य सुरेश आलेमगर पनि चीनको तिब्बत प्रस्थान गरेका छन्।
उनले आफू तिब्बतको भ्रमणमा जान लागेको बारे सामाजिक सञ्जालमा लेखेका थिए। पार्टी एकतापछि दुवै देशका कम्युनिस्ट पार्टीका नेताहरुका भ्रमण आदानप्रदान भइरहेका छन् । चिनियाँ नेताहरुले पनि पछिल्ला दिनमा नेपाल भ्रमण बाक्लो बनाएका छन्। यद्यपि चिनियाँ कम्युनिस्ट पार्टीका नेताको नेपाल भ्रमण नेकपाका नेताहरुको चीन भ्रमणभन्दा निकै थोरै छ।
गएको डेढ वर्षमा नेकपाका धेरै नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण गरेका छन्। यस्तो भ्रमण गर्नेमा शीर्ष नेता पनि छन्। केही दिनअघि मात्रै नेकपाका २९ जना मेयर–उपमेयर चीनको अध्ययन भ्रमणमा गएका थिए। पछिल्लो पटक पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले चार दिने चीन भ्रमण गरेका थिए।
सम्झौताको असर
राष्ट्रपति सीको नेपाल भ्रमणपछि नेकपाका नेताहरु चीन भ्रमणमा निस्कनुलाई दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्न असोज ७ गते भएको सम्झौताको असर भनेर नेताहरुले व्याख्या गर्न थालेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले असोज ६ र ७ गते संयुक्त आयोजनामा गरेको विचारधारात्मक प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताओ नेपाल आएका थिए ।
सोही क्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका लागि भन्दै ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको त्यो थियो। तत्कालीन एमाले र माओवादीसँग चिनियाँ कम्युनिस्ट पार्टीको भिन्दाभिन्दै सम्बन्ध थियो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।आगामी पाँच वर्षका लागि दुई पार्टीबीच उच्च स्तरको सहकार्य गर्ने विषयमा सम्झौता भएको थियो।
उच्च स्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालनजस्ता विषय सम्झौतापत्रमा थिए। यही सम्झौताअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाका नेताहरुलाई चीन भ्रमणको निमन्त्रणा गरेको रूपमा बुझ्दा गलत नहुने नेकपाका एक केन्द्रीय सदस्यले बताए।
यस्तै नेपालको राजकीय भ्रमणमा रहेकाबेला भएका चिनियाँ राष्ट्रपति सीले दुई कम्युनिस्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेकपाका शीर्ष नेताहरुलाई आग्रह गरेका थिए। भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी महासचिवको हैसियतमा राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसहित सचिवालयका सदस्यसँग छलफल गरेका थिए।
उक्त छलफलमा सीले दुई कम्युनिस्ट पार्टी भएकाले राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्ने बताएका थिए। छलफलमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिस्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्त्व दिएको बताएका थिए।
भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए।